विवाईसी बागलुङको आयोजनामा बुधबार बुर्तिबाङमा ढोरपाटन क्षेत्रको दिगो विकास पर्यटन प्रर्वद्धनका सन्दर्भमा सरोकारवाला नागरिकका बिचमा राजनैतिक बहस सँगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
ढोरपाटनको दिगो विकास, ढोरपाटन सिकार आरक्षलाई मध्यवर्ती घोषणाको प्रयास तथा ढोरपाटनमा पर्यटन सम्भावना र त्यसको व्यवस्थापनका विषयमा यहाँस्थित जनप्रतिनिधि, ढोरपाटन सिकार आरक्षका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधि र सरोकारवाला निकायका बिचमा छलफल र बहस गरिएको हो ।

विवाईसी बागलुङका कार्यक्रम टिम लिडर अमर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन सिकार आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले ढोरपाटनलाई मध्यवर्ती घोषणाको तयारी, स्थानीय नागरिकले प्राप्त गर्ने अधिकार तथा सुविधा, मध्यवर्ती घोषणा पछि हुने सम्भावना र अवसर लगायतका विषयमा प्रस्ट पार्दै स्थानीय समुदायको अपनत्व र सहभागितामा मध्यवर्ती घोषणा गर्न सकेमा ढोरपाटनको विकास, स्थानीय समुदायको जीवन स्तर सुधार र अवसरको सम्भावनाको ढोका खुल्ने बताउनु भयो ।
सरकारले ढोरपाटन सिकार आरक्षको निश्चित क्षेत्रलाई मध्यवर्ती घोषणा गर्ने तयारी गरिरहेका कारण घोषणा गर्नु अगावै स्थानीय समुदाय र सिकार आरक्ष बिच आवश्यक समन्वय, कार्यक्रम र त्यसको सान्दर्भिकताका सन्दर्भमा आफूहरूले समुदायका अगुवा र नागरिकलाई जानकारी र समन्वय गरेर अगाडि बढ्न खोजिएको बताउनु भयो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले ढोरपाटन सिकार आरक्षले मध्यवर्ती क्षेत्रको विषयमा आम नागरिकलाई सतही रुपमा बुझाउनु पर्ने र घोषणा भएका अन्य स्थानको भ्रमण गराउन सकेमा मध्यवर्ती घोषणा कार्यक्रम प्रभावकारी हुने बताएका हुन । नागरिकको बिचमा मध्यवर्ती घोषणाको विषय र त्यसबाट पर्ने प्रभावका विषयमा बुझाउन नसकेकै कारण लामो समयदेखि नागरिक र सिकार आरक्ष बिच द्धन्द भइरहेको बताइएको हो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बोल्दै ढोरपाटनको विकास, पर्यटन पर्वधनका निम्ती ढोरपाटन नगरपालिकाले दिगो योजना बनाएर अगाडि बढिरहेको बताउँदै त्यहाँको प्रचुर सम्भावनालाई महत्वपूर्ण लक्ष्यका आथ अगाडि बढ्ने बताउनु भयो । मध्यवर्ती क्षेत्र घोषणाको विषयमा स्थानीय समुदाय र सरकार बिच समन्वय गरेर अगाडि बढेमा सबैलाई उचित लाभ हुने तर्क गर्नुभयो ।
त्यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिका ९ का अध्यक्ष खिम बहादुर घर्तिले बोल्दै दिगो विकास र पर्यटन पर्वधनका निम्ती आफू अध्यक्ष रहेको नगर स्तरीय समिति गठन गरेर अगाडि बढिएको बताउँदै परिणाम देखिने गरी काम गर्ने बताउनु भयो ।
मध्यवर्ती क्षेत्र घोषणाको सवालमा नागरिक तहमा बुझाईलाई वृद्धि गरेर यहाँको सम्भावना र अपनत्व लिने गरी अगाडि बढ्न सकेमा सबैको हित हुने बताउनु भयो । कार्यक्रममा ढोरपाटन नगरपालिका ८ का अध्यक्ष भद्रमणी सुनार, वडा नम्बर ७ का अध्यक्ष धन बहादुर अदै ,वडा नम्बर ९ का निवर्तमान वडा अध्यक्ष हरि बहादुर घर्तिले बोल्नु भएको हो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निल बहादुर पुन, नेकपा एमाले प्रदेश सदस्य टँक पौडेल , उद्योग वाणिज्य संघ ढोरपाटनका महासचिव ज्ञान प्रसाद कँडेल, नेपाल मगर संघ क्षेत्रीय अध्यक्ष गंग बहादुर घती लगायतले ढोरपाटनको विकास र मध्यवर्ती घोषणाको सन्दर्भमा धारणा राख्नु भएको हो ।
विवाईसी बागलुङका सदस्य प्रेम केसीको स्वागत , उत्तम अर्यालको सहजिकरणमा सम्पन्न भएको हो ।