तमानखोला गाउँपालिकाले नागरिकको समस्यालाई मध्यनजर राख्दै मुख्य शहरमा पुगेर सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गरिदिने भएको छ ।

गाउँपालिकाले एक सूचना मार्फत गाउँपालिकाबाट विभिन्न सेवा सुविधाको निम्ती विभिन्न शहरमा बस्दै आएका नागरिकको समस्यालाई मध्यनजर राख्दै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्ने तयारी अगाडि बढाइएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।
अध्यक्ष बुढाले भन्नुभयो “ बर्सातको समय छ सडक सहज छैन सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नेमा धेरैजसो ज्येष्ठ नागरिक हुनुहुन्छ ।उहाँलाई सम्बन्धित वडा कार्यालय सम्म आउजाउ गर्न असहज हुने देखिएपछि मुख्य तिन शहरमा पुगेर नवीकरण गर्न तालिका तय गरिएको बताउनु भयो ।”

पालिकाले बर्षात को समयमा नागरिकलाई वडामा पुगेर सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्न समस्या भएको र नागरिकको समेत गुनासो रहेको भन्दै त्यसलाई सहज बनाउन मुख्य शहरहरू काठमाण्डौ, पोखरा र भैरहवामा पालिकाबाट कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिदिने तयारी रहेको जनाइएको हो ।
पोखरामा यहीँ भाद्र २ गते, काठमाण्डौ भाद्र ४ र ५ गते र भैरहवा भाद्र ७ गते सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्ने तय गरिएको हो ।