पश्चिम बागलुङमा केन्द्रिय विद्युत दिउसोको समयमा आपुर्ति नहुँदा समस्या सृजना भएको छ । १३२ के.भि. क्षमताको विद्युत विस्तारीकरण भइरहेका कारण अझै चार दिन सम्म विद्युत नियमित नहुने नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्र प्रमुख पवन पौडेलले बताउनु भयो ।
बडिगाड गाउँपालिका ५ ग्वालिचौरमा स्थानीय नागरिक विच जग्गा विवादले विद्युत विस्तारमा लामो समयदेखि समस्या रहेको थियो । सर्वोच्चमा रिट परेको र सुनवाई नभएको अवस्थामा विद्युत को तार तान्ने काम अवरुद्ध थियो ।

सर्वाेच्को फैसला आएसँगै विवादित क्षेत्रमा गत चार दिन देखि टावर निर्माण र विद्युत तार तान्ने काम भइरहेका कारण अझै केहिदिन विद्युत सेवा दिवा समयमा अवरुद्ध हुने प्रमुख पौडेलले बताउनु भयो । हाल प्रसारण भइरहेको लाइनमा माथिदेखि तार तान्दै गर्दा सर्ट हुने समस्या भएपछि दिउँसोको समयमा विद्युत अवरुद्ध हुन पुगेको बताइएको छ ।
पौडेलले भन्नुभयो“ हामीले सेवा ग्राहीको समस्यालाई मध्यनजर राख्दै दैनिक १०० बढि कामदार खटाएर काम गरेका छौँ करिब ४ दिन सम्म काम सकिएपछि विद्युत नियमित हुन्छ । ” बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नियमित रुपमा विद्युत बन्द हुँदै आएको हो । विद्युत बन्द हुँदा उद्योग, कार्यालय, व्यापार , सञ्चार लगायतका क्षेत्रमा प्रत्यक प्रभाव पारेको छ ।