२०८२ साउन २५ , बुर्तिबाङ
शिशिर विश्वोकर्मा, नेपालको एक मात्र शिकार आरक्षका रूपमा परिचित ढोरपाटन हाल पनि आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।
हिमाली भेगको सौन्दर्य, जैविक विविधता, तथा स्थानीय संस्कृतिको अनुभव लिन यहाँ हरेक वर्ष हजारौङ्को सङ्ख्यामा पर्यटक पुग्ने गर्छन् । तर हालका दिनमा यहाँ पुग्ने यात्रुहरूको अनुभव उत्साहजनक मात्र नभई गुनासोले भरिएको देखिन्छ । पर्यटकहरूको भनाइमा, ढोरपाटन पुग्ने मुख्य सडक खण्डहरू अत्यन्तै जीर्ण अवस्थामा छन् ।

सवारीसाधन चलाउँदा खाल्डाखुल्डी, असमान सतह र पहिरोको जोखिमको सामना गर्नुपर्ने बाध्यता छ । वर्षायाममा सडक हिलाम्य र हिउँदमा धुलाम्य हुने हुँदा यात्राको कठिनाइ झन् बढ्ने गरेको छ । “यात्रा गर्दा आधा बाटोमै थाकिन्छ, सडक यति बिग्रिएको छ कि निजी सवारी लिएर आउनु पनि साह्रै चुनौतीपूर्ण हुन्छ,“ बागलुङबाट पुगेका एक आन्तरिक पर्यटकले भने , यात्राको कठिनाइ पार गर्दै गन्तव्यमा पुगेका पर्यटकहरूले स्थानीय होटल र होमस्टे व्यवसायमा समेत असन्तोष व्यक्त गरेका छन् ।
उनीहरूका अनुसार, होटल तथा होमस्टेमा मूल्यसूची स्पष्ट छैन, मेनुमा तोकिएको भन्दा बढी रकम असुल्ने प्रवृत्ति व्यापक छ, र सेवाको स्तर पनि भुक्तानीअनुसार छैन । केही पर्यटकले समान सेवाका लागि फरकफरक पर्यटकसँग फरक मूल्य लिने गरिएको आरोप समेत लगाएका छन् । “पर्यटन क्षेत्रलाई दिगो बनाउन हो भने सेवा र मूल्य दुवैमा पारदर्शिता आवश्यक छ ।

अहिलेको मनपरी शुल्क र कमजोर पूर्वाधारले आगन्तुकको अनुभवलाई नकारात्मक बनाइरहेको छ,“ एक पर्यटन व्यवसायीले चेतावनी दिए । पर्यटनहरूको धारणा छ कि यस्तो अवस्था जारी रहँदा ढोरपाटनको छवि कमजोर हुने मात्र नभई, दीर्घकालीन रूपमा पर्यटक आगमनमा कमी आउने सम्भावना छ । उनीहरूले तत्काल सडक पूर्वाधार सुधार, मूल्य नियमन, र सेवा गुणस्तरमा सुधारका लागि सम्बन्धित निकायहरूलाई पहल गर्न आग्रह गरेका छन् ।
स्थानीय प्रशासनले भने सडक मर्मत र होटल–होमस्टे व्यवस्थापन सुधारका लागि योजना बनाइरहेको जनाएको छ ।










