भदौ १ गते देखि निसेलढोरमा ऐतिहासिक गाउँ (नाँखा) पुजा मेला २०८२ सञ्चालन हुने ।

साउन २२ गते ।

“हाम्रो मौलिकता नै हाम्रो पहिचान, कला संस्कति बचाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ यहि भदौ १ गतेबाट भूमे पुजाको अवसरमा ऐतिहासिक गाउँ (नाँखा) पुजा मेला २०८२ सञ्चालन हुने भएको छ । निसीखोला गाउँपालिका वडा नं. ५ को ऐतिहासिक पर्यटकीय स्थल निसेलढोरमा गाउँ (नाखा) पुजा व्यवस्थापन समिति, निसीखोला गाउँपालिका ५, निसेलढोरद्वारा यहि भदौ १ गते देखि ६ गतेसम्म विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको समितिका सचिव हिरासिंह घर्ति मगरले बताउनुभयो ।

१ लाख ६ हजार ६ सय ६६ रुपैयाँ प्रथम पुरस्कार राशिको पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । जसमा द्वितीय हुनेले रु ६६६६६।– कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ भने जसको दर्ता शुल्क ७ हजार राखिएको छ । त्यस्तै ५ हजार दर्ता शूल्क रहेको महिला भलिबल प्रतियोगिता पनि सञ्चालन हुने भएको हो । जसमा प्रथम र द्वितीय पुरस्कार क्रमशः ५० हजार र ३० हजार कप, मेडल र प्रमाणपत्र राखिएको छ । ५० हजार प्रथम पुरस्कार रहेको पुरुष फुटसल प्रतियोगिता राखिएको छ भने द्वितीय हुनेले ३० हजार प्राप्त गर्ने क्लवका सचिव घर्ति मगरले जानकारी दिनुभयो । त्यस्तै अन्य कार्यक्रमहरुमा ग्रुप डान्स प्रतियोगिता, पुरुष तथा महिला रस्साकस्सा प्रतियोगिता, दोहोरी गीत, मायाली भाका, पुुरुष र महिला दुबैको ठेलो प्रतियोगिता, एकल डान्स प्रतियोगिता, पुरुष र महिला दुबैको दौड प्रतियोगिता, घैटोफोर प्रतियोगिता र पुरुष भेट्रान्स ठेलो र २५ हजार प्रथम पुरस्कार र १५ हजार द्वितीय पुरस्कार राशिको पुरुष भेट्रान्स भलिबल प्रतियोगिताको आयोजना गरिएको क्लवका सचिव घर्ति मगरले जानकारी दिनुभयो । मेलालाई भव्य सभ्य तरिकाले सम्पन्न गर्नका लागि विभिन्न संघ संस्था तथा व्यक्तिले सहयोग गर्नेक्रम जारी रहेको आयोजकले बताएको छ ।

ऐतिहासिक गाउँ पुजा मेला सञ्चालन गरी पुरानो परम्परा, रिती रिवाज कला सस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्ता हस्तान्तरण गर्ने, नयाँ पुस्तालाई पुर्ख्यौली इतिहास बुझाउने र त्यो ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न भुमिका खेल्ने र समुन्नत समाज निर्माणका लागि लागी पर्ने साथै यस ठाउँबाट राम्रो कलाकार र खेलाडी उत्पादनमा जोड दिने यस मेलाको प्रमुख उद्देश्य रहेको छ ।

खासगरि निसीखोला गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने मगर, छन्त्याल, दलित लगायत अन्य समुदायको सामाजिक सद्भाव कायम गर्ने गरी प्रथाजनिक व्यवस्थामा आधारित रहेर यहाँका व्यवसायी, शिक्षक, विद्यार्थी, कलाकार, खेलाडी, सञ्चारकर्मी सबै सबैलाई लक्षित गर्दै कार्यक्रम गर्न लागिएको गाउँ पुजा व्यवस्थापन समितिका सचिव हिरासिंह घर्ति मगरको भनाइ रहेको छ । परापूर्वकाल देखि नै यस ठाउँमा मेला लाग्दै आएको छ । मेलाको बारेमा थप जानकारीका लागि सचिव घर्ति मगरसँग ९७४१८२२५०१ मा प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ ।

के हो त गाउँ (नाखा) पुजा ?

यस्तो छ , पृष्ठभुमी ।

जिल्लाको सदरमुकामबाट करिब १२० कि.मी दुरीमा अवस्थीत यस निसीखोला गाउँपालिका वडा नं ५ मा रहेको निसेलढोर समुन्द्र सतह देखि करिब २८५० मिटरको उचाईमा पर्दछ । यस क्षेत्रमा खास गरी मगर छन्त्याल दलित लगाएत अन्य केही समुदायको बसोबास रहेको छ । कुनै समय यस निसेलढोरलाई एतिहाँसिक राज्यको नामले चिनिने गरिन्थ्यो । यस गाउँ (नाखा) पुजाको छुट्टै ऐतिहासिक महत्व रहेको पाइन्छ ।
यहाँको गाउँ (नाखा) पुजाको बारे स्थानिय तहमा शाब्दिक भिन्नता रहेको हुँदा यहाँको बोलीचालीमा प्रयोग हुँदै आएको दुई शब्दहरु गाउँ (नाखा) पुजा र नाम पुजा भन्ने रहेको पाइन्छ । परम्परा संस्कृति र इतिहासहरु तथ्यको जगमा उभिएको हुनु पर्छ कसैको विशेष लहड वा कल्पनाको आधारमा सिर्जित इतिहास र परम्पराले यथार्थको नजिक पुर्‍याउने मात्र नभई कालान्तरमा झिन्या तथा अन्धविश्वासमा रुपान्तरण भई वास्तविक इतिहासहरु मेटिन पुग्छन् । तसर्थ निसेलढोरका नाखा पुजा कल्पना वा लहलहैमा निर्मित बनावती संस्कृति नभई यहाँका मगरहरु लगायत अन्य जातिहरुको ऐतिहासिक जीवन शैली र परम्परासँग अभिन्न रुपमा जोडिएको सचिव घर्ति मगरले बताउनुभयो ।

ईतिहासलाई खोतल्दै जाने हो भने निसेलढोर भन्दा सायदै पुरानो मानव बस्तीहरु नेपालमा नभेटिन पनि सक्छ अध्ययन अनुसन्धानका कमि र राज्यको उदासिनताले गर्दा यहाँको पुरातात्विक महत्व यहाँको जमिन मुनि पुरिएको बताइन्छ ।आधुनिकताको विकास सँगसँगै पुजाको नाममा समेत अपभ्रम भई गाउँ पुजा (नाखा पुजा) कि नाम पुजा (भुमी पुजा) भन्ने विषयमा समेत स्थानीयस्तरमा दुई मत देखिएको छ । रोल्पा रुकुम र बागलुङका केही मगर समुदायहरुमा नाम पुजा अर्थात भुमी पुजा गर्ने परम्परा अझै जिवित छ जुन असार १ गते देश भरका यस पुजा परम्परासँग जोडिएका मगरहरुले धुमधामसँग मनाउने प्रचलन रहेको छ ।
यस पुजा प्रविधी विशेष गरि भुमी पुजनसँग जोडिएको र यसको आफ्‌नै विशिष्टता र मौलिकता छ । तर हाम्रो नाखा पुजा (गाउँ पुजा) भाद्र १ गते मनाईन्छ जसको पुजा विधी परम्परा भुमी सँग होइन भुमीको उत्पादनलाई समाज वा समुदायमा त्यसको विवतरण प्रणालीँंग जोडिएको छ । जसको मुल अर्थ वा सार बाँच्नलाई बचाउ भन्ने मुल मन्त्र जोडिएको हुन्छ । मानव सभ्यताले कृषि युगमा प्रवेश गर्नु भन्दा अगाडि जङ्गलमा आधारित जीवन पद्धतीसँग जोडिएका उत्पादनको मुलस्रोत प्रकृति र त्यसैको आधारमा जीवन निर्वाह गर्नुपर्ने अवस्थामा प्राकृतिक रुपामा उत्पादित वनजङ्गलका खाद्य फलफुल तरुल भ्याकुर काठ, दाउरा चुयाचेत्रोहरुका समान वितरण र उपभोग गर्न पाउने मानविय अधिकारको संरक्षणसँग जोडिएको ऐतिहासिक समाज व्यवस्थाको दर्पण हो । नाखा पुजा अर्को अर्थमा यो पुजा आदिम समाजिक व्यवस्थाको प्रतिक हो ।

भुमी पुजा गर्ने विशेष गरी पुरानो १८ मगरात भित्र छरिएर रहेका मगरहरु र आज भुमी पुजा नगर्ने मगरहरुको उद्मग स्थल नै निसेलढोर क्षेत्र हो भन्ने यथष्त प्रमाणहरु छन् तर अध्ययन अनुसन्धान र प्रचार प्रसारको कमीको कारण आज देशभरका मगरहरुको तीर्थ स्थान बन्नु पर्ने निसेलढोर बिरानो र एक्लो भई गुमनाम बनिरहेको छ । यस क्षेत्रको ऐतिहासिक महत्वलाई देशव्यापी रुपमा चिनाउने र यसको वास्तविक इतिहास र परम्परालाई जिवन्त दिने यस मेलाको मुल लक्ष्य रहेको छ । विशेष गरी यो गाउँ पुजाले ऐतिहासिक परम्पराको प्रतिनिधित्व गर्ने एउटा उत्पादन तथा वितरण प्रणाली र दोस्रो संरक्षण जिविका उपार्जनका लागि पूर्ण रुपमा जङ्गलमा आश्रीत हुनुपर्ने भएकाले जङ्गल संरक्षण गर्नु प्रमुख सामाजिक दायित्व हुने गर्दथ्यो एउटै जङ्गलबाट १२ महिना जिविका चलाउन गाह्रो पर्ने भएकाले आफ्‌नो मूल थलो छोडी ६ महिना वर्ष दिनका लागि अन्य स्थान तर्फ वसाईँसरार्इँ तत्कालिन वाध्यता रहेको यसै क्रममा निसेलढोरबाट हिउँदे समय लाग्नु अगावै यहाँबाट पूर्व पश्चिम उत्तर दक्षिण बसाई सराई गर्ने चलन थियो केटाकेटी र हिड्न दुल्न सक्नेहरु जती विभिन्न दिशा तर्फ बसाई सराई गर्ने इतिहास रहेको छ ।

यो हजारौं बर्ष अगाडीको कुरा हो (जुजा जुजी) बुढाबुढी र अशक्तहरुलाई ६ महिना खान पुग्ने व्यवस्था गरुरी ओढारमा राख्ने प्रचलन थियो कालान्तरमा आएर केही समुदाय बसाई सरी सकेपछि उक्त स्थानमा फर्किएको र देशका विभिन्न भागहरुमा जहाँ बसार्इँसराइ गरिरहेका थिए उतै रैथाने भएर बस्न थाले र त्यस ठाउँलाई पिढीदर पिढी विर्सिदै गए एउटा समुदाय (झुण्ड) जसलाई आज निसेल खाम मगरहरु तथा अन्य जातिहरु भनि चिन्ने गरिन्छ । उनिहरुको पुर्खा मात्र ढोर आउने जाने क्रम जारी रहेको छ र निसेलहरुको शाखा पाल्पाको अर्गली सम्म बसार्इँ सरी जाने गरेको भन्ने भनाई पनि छ तर उनिहरु बाटोको कुनै पनि स्थानमा बढिमा १५ दिन भन्दा बढी बस्ने नगरेको र बसाई सराइको क्रममा बाटो मै १० महिना बिताउने गरेको तर ढोरमा श्रावण मशान्त भित्र सबै फर्कि सक्ने चलन थियो र श्रावण मशान्तको राती झाँकी बसाएर तन्त्रमन्त्रबाट वनजङ्गल फुकाएर भाद्र १ गते आ–आफ्‌नो कुल देउताको पुजा आरधाना गरि सके पछि सामाजका लागि वनजङगलको तरुल भ्याकुर काठदाउरा चुयाचेत्रो मान्द्रो गर्न पाउने तथा शिकार सम्म गर्न पाउने व्यवस्था थियो । त्यस भन्दा अगाडि वनजङ्गलबाट सिन्को सम्म संकलन गर्न नपाउने शिकारको त कुरा छोडौ जमिन खन्न र जोत्नेत कुरै भएन कमिला समेत मार्न पाईदैन थियो अर्को अर्थमा टाढा टाढा बसाई सरी गएकाहरु ढिलोमा श्रावण मसान्त भित्र ढोर फर्की सक्नु पर्ने र पुजा विधि पुरा गरिसकेपछि भाद्र १ गतेबाट जङ्गलको भोग चलन गर्न सामाजलाई फुकुवा गरिने चलनलाई नै गाउँ पुजा भन्ने गरिएको हो ।

पछि कालान्तरमा आएर ओडारमा जो छोडिएका जुजाजुजी (बुढाबुढी) अशक्तहरु त्यही ओदारमा खाद्य अभाव, बिरामी हिमपातको कारण ओडार भित्र मरेका कारण तिनिहरुको प्रेत आत्माले त्यहाँको स्थानियलाई दुःख दिने गरेकाले झाँक्रीले तिनीहरुको प्रेत आत्मालाई धपाउन त्यही जुजा जुजी ओदारमा गइ सफा भई पुजाआजा गरि कापाई बनी धपाउनु पर्छ र ति प्रेत आत्माहरुलाई लोभ्याउन आ–आफ्‌नो घर घरमा मिठा मिठा परिकारहरु बनाई बोलाउनु पर्छ ताकी ओडार भित्र प्रवेश गर्ने पुजारी र कापाईहरुलाई तिनीहरुको प्रेत आत्माले असर नपरोस् र विधिगत पुजा गरी सकेपछि ती प्रेत आत्माहरुलाई कापाईहरुले ओडारबाट लखेट्दै घरघरमा समेत पसी ति प्रेत आत्मा लोभ्याउन राखिएका परिकारहरु समेत कापाईहरुले खाईदिने र लखेट्दै ति प्रेत आत्माहरुलाई गाउँको खोला किनारमा बाख्रो बली चढाई कापाईहरु समेत खोलामा हाम फालेर गंगा स्नान गरी शुद्धि गरिने चलन नै निसेलढोरको कापाई नाँच तथा गाउँ पूजा हो । आफ्‌नो अस्तित्व रक्षाका लागि मौलिक ऐतिहाँसिक परम्पराको संरक्षण गर्नु अपरिहार्य हुन्छ । खासगरी गाउँ ( नाखा) पूजामा शिद्ध, बराह, देवी, र सत्रु समेतको पूजा गर्दै आईएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img