छविलाल पाण्डे बागलुङ
धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटन घुम्नेको सँख्या प्रत्यक बर्स वृद्धि हुँदै गएको छ । पर्यटकीय गन्तव्यको प्रचार प्रसार हुँदै जाँदा आन्तरिक र बाह्य पर्यटकको सँख्या प्रत्यक बर्ष पचास प्रतिशतको दरले वृद्धि हुँदै गएको पाइएको हो । आर्थिक बर्ष २०८०÷०८१ मा पन्ध्र हजार पर्यटक ढोरपाटन पुगेकोमा २०८१÷०८२ मा २३ हजार ६९२ पर्यटक ढोरपाटन घुम्नका निम्ती पुगेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।

ढोरपाटन उपत्यकामा मात्रै पुग्ने गरेका पर्यटक पछिल्लो समय ढोरपाटन सिकार आरक्षको विभिन्न क्षेत्रमा पुग्न थालको र प्रचार प्रसार समेत वृद्धि हुँदा पर्यटक आवागमन वृद्धि भएको पाइएको हो । कुनै दिन ढोरपाटनमा शिकार खेल्न मात्रै पर्यटक आउने गरेकामा पछिल्लो समय शिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेल ढोर र ढोर वराह मन्दिर , बुकि पाटन लगायतका क्षेत्रको अवलोकनका लागी पर्यटक आउने गरेका छन् ।
विदशी शिकारी शिकार खेल्नका लागि हेलिकप्टरमार्फत सोझै आरक्ष क्षेत्रमा पुग्ने गरे पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक घुम्नका लागि त्यहाँ पुग्न थालेका छन्। वैधानिक रूपमा नाउर र झारलको शिकार खेल्न पाइने आरक्ष क्षेत्र प्रवेशमा नेपाली र बाह्य पर्यटकले प्रवेश शुल्क तिर्नुपर्छ ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आरक्षमा पुग्ने विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्दै आएकोमा विगत तिन वर्षदेखि आन्तरिक पर्यटकको पनि तथ्याङ्क राख्न थालिएको छ । यसवर्ष नेपाली नागरिक २३,४६७ जना सार्क नागरिक १२ जना र विदेशी नागरिक २१३ जना गरी कुल २३,६९२ जना पर्यटक ढोरपाटन घुम्न आएको आरक्षका कर्मचारी पदम रोकायाले जानकारी दिनुभयो । आव २०८०÷८१ मा पन्ध्र हजार स्वदेशी र विदेशी पर्यटक आरक्ष क्षेत्रमा आएका थिए अघिल्लो वर्षको तुलनामा आर्थिक बर्ष २०८१÷८२ मा करिब नौ हजार बढि पर्यटक ढोरपाटन भित्रिएका हुन ।
ढोरपाटनको प्रचार प्रसार भइरहेका कारण पर्यटक आवागमन वृद्धि भएको र यसलाई अझै व्यवस्थित गर्दे लैजाने ढोरपाटन नगरपालिका ९ का अध्यक्ष खिम बहादुर घर्तिको भनाई छ ।
ढोरपाटन उपत्यकामा दुई दर्जन होटल, होमस्टे सञ्चालनमा रहेका छन । दैनिक तिन सय बढि पर्यटक आउने र पछिल्लो समय यो क्रम निरन्तर हुँदै गएका कारण होटल तथा होमस्टे व्यवसाय समेत फस्टाउँदै गएको होटल व्यवसायी राम बहादुर घर्तीको भनाई छ ।
उपत्यका देखि करिब ४३०० मिटर बुकीपाटन सम्म पर्यटक पुग्न थालेपछी विभिन्न स्थानमा गोठ स्टे सञ्चालनमा ल्याइएको छ । पर्यटकको सहजताका निम्ती गोठस्टे स्थापना भएपछि उनिहरुलाई खान बस्न र घुम्नका निम्ती सहजता प्राप्त हुने गरेको स्थानीय व्यवसायी महेन्द्र घर्तीको भनाई छ ।