इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट आर्थिक बर्ष २०८१÷०८२ मा दुई हजार ९ सय ७६ जना व्यक्तिले नयाँ नागरिकता लिँदा दुई हजार ६ सय ९४ जनाले नयाँ राहदानी लिएका छन ।
कार्यालयबाट वार्षिक रुपमा दिइएको सेवा अन्तरगत राहदानी लिने र नागरिकता लिनेको सङ्ख्या नजिक नजिक रहेको पाइएको हो । कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने ७ हजार १७५ जना व्यक्तिलाई सेवा दिएको छ ।

नाबालक परिचय पत्र लिने १७३ जना, नागरिकता प्रतिलिपि लिने २ हजार ९५ जना रहेको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख सरोज सिग्देलले बताउनु भयो । त्यस्तै कार्यालयबाट दलित, जनजाति, खस, आर्य तथा अन्य सिफारिस लिनेको सङ्ख्या ६७६ जना रहेको पाइएको हो ।
कार्यालयले गत आर्थिक वर्षमा १ करोड ४४ लाख ६७ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको छ । चालू तर्फ ८१।१८ प्रतिशत र पुँजीगत तर्फ ९५।५७ प्रतिशत खर्च गर्न सफल भएको जनाइएको हो ।

इलाका प्रशासन कार्यालय हालसम्म पनी भाडाको घरमा रहँदै आएको हो । भाडाको घरमा रहँदा कार्यालय अत्यन्तै साँघुरो हुँदा सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न नसकिएको बताउँदै बैकल्पिक व्यवस्था गर्न आवस्यक रहेको कार्यालय प्रमुख सिग्देलको भनाई छ । कार्यालयका कोठा र बाहिर बस्ने ठाउँ साँघुरो हुनु र सेवा ग्राहीको अत्याधिक चाप हुने हुँदा पालो कुरेर बस्न समेत समस्या हुने गरेको सेवाग्राही नागरिकको गुनासो रहेको छ ।