२०८२ असार १७,बुर्तिबाङ
ढोरपाटन नगरपालिका–५ अस्तुमा गत जेठ ३० गते भएको बोलेरो पिकअप दुर्घटनामा गम्भीर घाइते भएकाहरूको उपचार तथा पुनःस्थापनाका लागि रु. १४,५४,५६२(अक्षरेपी चौध लाख चौन्न हजार पाचसय बैसठ्ठी ) सहयोग रकम हस्तान्तरण गरिएको छ ।
समाजसेवी खडक कुँवरको पहलमा भरत कुँवरको खातामार्फत संकलित सो रकम पीडित परिवारलाई प्रदान गरिएको हो । बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका २ खल्बाङ अर्नाकोटका लागी छुटेको लुम्विनी प्रदेश ०१ ००१ च १७७५ नम्बरको पिकअप दुर्घटनामा परेको हो । पिकअप सालझण्डी ढोरपाटन सडक खण्डको अस्तु भन्ने स्थानमा सडक देखि करिब १०० मिटर तल थियो ।

दुर्घटनापछि स्थानीयवासी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको सक्रियतामा उद्धार कार्य सञ्चालन गरिएको थियो। घाइतेहरूलाई बागलुङ अस्पताल हुँदै पोखरा र काठमाडौंस्थित स्वास्थ्य संस्थाहरूमा रिफर गरिएको थियो। केही अझै पनि उपचाररत छन् भने केही घर फर्किसकेका छन्।
घटनापछि समाजसेवी खडक कुँवरले “पीडितका लागि राहत” अभियान सञ्चालन गर्दै सहयोग संकलन सुरु गरेका थिए। भरत कुँवरको खातामार्फत देश–विदेशबाट सहयोग रकम जम्मा गर्न आह्वान गरियो।

अभियानमा विभिन्न पेशा, वर्ग र समुदायका व्यक्तिहरूले उत्साहपूर्वक साथ दिएका थिए।
पारदर्शिता कायम गर्दै सहयोग रकमको विवरण सामाजिक सञ्जालमार्फत नियमित सार्वजनिक गरियो। संकलित रकम हालै पीडित परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी तथा नागरिकहरूको उपस्थिति रहेको थियो।
पीडित परिवारले उपचारमा सहयोग पु¥याउने सबै सहयोगदाताप्रति आभार व्यक्त गरेका छन्। समाजसेवी खडक कुँवरले सहयोग अभियानले विपद्का बेला नागरिक तहबाट पनि प्रभावकारी पहल सम्भव हुने प्रमाणित गरेको बताए। उनले यस्ता मानवीय कार्यहरू भविष्यमा पनि निरन्तर जारी राख्ने प्रतिवद्धता जनाए।
दुर्घटनाले समुदायमा ठूलो पीडा र आघात पु¥याए पनि त्यसपछि देखिएको एकता र सहकार्य प्रेरणादायी बनेको स्थानीयले बताएका छन् ।