पौष ७ गते बुर्तिबाङ
बागलुङको बडिगाड गाउँपालिकामा सरोकारवालाहरूको लागी पोषण मैत्री स्थानीय शासन सम्बन्धी अभिभुखिकरण तथा प्रतिबद्धता कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

गुणस्तरीय पोषण सेवाको उपलब्धता र पहुँचको सुनिश्चितता गर्दे मानव जीवन चक्रमा पोषणको अवस्था सुधार गर्दे पालिकालाई कुपोषणबाट २०८३ सम्म अन्त्य गर्ने उद्देश्य सहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो ।
गाउँपालिका अध्यक्ष गण्डकी थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा सरोकारवाला निकायको सक्रिय उपस्थिति रहेको थियो ।जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमसेन वन, जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, पत्रकार लगायतको उपश्तिथी मा आयोजित कार्यक्रमका अवसरमा अभिभुखिकरण सँगै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो ।

बडिगाड गाउँपालिकाले यस वर्षदेखि पोषण मैत्री पालिका कार्यक्रमलाई अगाडि बढाएको छ । गाउँपालिकाको १० वटै वडामा पोषण मैत्री विभिन्न सूचकहरू का आधारमा कार्यक्रम अगाडि बढाउने गरी लक्ष्य निर्धारण गरिएको छ ।
पोषण उन्मुख अवस्थामा रहेको पालिकालाई विक्रम सम्वत् २०८३ सम्म पोषण मैत्री घोषणा गर्ने लक्ष्य लिइएको छ ।
गाउँपालिकाका नागरिकका बिचमा सचेतना मूलक कार्यक्रम गर्ने ,व्यक्तिगत सरसफाइ, शुद्ध खानेपानीको पहुँच, तरकारीको पहुँच, दुध मासुको पहुँच, शिक्षाक्षेत्र विद्यार्थीको भर्ना र पढाईको सुनिश्चता, बाल विकास केन्द्रका सहजकर्तालाई तालिम लगायतको विषयमा कार्यक्रम गरिने भएको हो ।