२०८२ कार्तिक २३ बुर्तिबाङ ,
दाङ देउखुरीको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ । गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए ।
राष्ट्रव्यापी रूपमा सञ्चालन भइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत खुवाइएको औषधि खाँदै गर्दा घाँटीमा अड्किएको र सोही कारण दुई मिनेटमै बालिकाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
घटना गढवा गाउँपालिका–४ रामनगरमा भएको हो ।

प्रारम्भिक अनुसन्धान अनुसार महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किएपछि सास रोकिन गई मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवको पोष्टमार्टम राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा गरी शव परिवार लाई बुझाइएको छ ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बमले जानकारी दिए ।










