२०८२ कार्तिक ११ बुर्तिबाङ,
महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई ठाउँमा ठूलो हिमपात र वर्षाको पनि सम्भावना रहेको छ ।
यस्तै राति गण्डकी प्रदेशका केही ठाउँहरुमा, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागका एक, दुई ठाउँमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई ठाउँमा राति पनि ठूलो हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो ।

शुक्रवारसम्म नै वर्षा र हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
यसैबीच मुस्ताङ प्रशासनले जिल्लाका पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ । मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा याकखर्क क्षेत्र, मनाङ–मुस्ताङ थोरङ्लापास, मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रहरुमा हिमपात हुन सक्ने भन्दै प्रशासनले पदयात्रा नगर्न भनेको हो ।

पर्यटक तथा तीर्थयात्रीहरुलाई मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।










