स्वास्थ्य बीमा बोर्डले बागलुङको बडिगाड आधारभूत अस्पताल सहित देशभरका विभिन्न २२ वटा स्थानीय तह र २६ वटा अस्पतालसँग स्वास्थ्य बीमा सेवा सम्झौता गरेको छ । स्वास्थ्य बीमा ऐन २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा ६ बमोजिम प्रथम सेवा बिन्दु प्रयोगका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा स्वास्थ्य संस्था रहने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार बोर्डको आह्वानमा स्थानीय तहका स्वास्थ्य संस्थाहरूसँग सम्झौता भएको हो । बागलुङ जिल्लामा यस अघि धौलागिरी अस्पताल, जैमिनी आधारभूत अस्पताल, गलकोट नगर अस्पताल र बुर्तिवाङ अस्पतालमा मात्रै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु रहेको थियो । बोर्डले पहिलो पटक सेवा बिन्दुको रूपमा सेवा दिने गरी सम्झौता गरेको हो । स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार यसलाई कार्यान्वयनमा ल्याइएको छ ।
बोर्डका अनुसार नयाँ सम्झौता सँगै बोर्डमा प्रथम बिन्दु ४१७ र प्रेषण केन्द्र सहित जम्मा ५०२ सेवा प्रदायक स्वास्थ्य संस्था रहेका छन् । हालसम्म प्रथम सेवा बिन्दु भएका स्थानीय तहको संख्या ३७६ पुगेको छ । यसले बीमीतलाई आफ्नै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार सेवा सहज रूपमा पाउने सुनिश्चित भएको बोर्डले जनाएको छ ।
बडिगाड आधारभूत अस्पतालमा यो सेवा सुचारु हुनेभएपछि अब स्थानीय नागरिकलाई सहजता हुने भन्दै स्थानीयबासी खुशी भएका छन् । यस ऐतिहासिक सम्झौता पछि गाउॅपालिकावासीले आफ्नै गाउॅमै सहज, सस्तो, गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा पाउने छन ।