विकाससँगै रित्तिँदै गाउँ, बागलुङको पातलेमा बसाइँसराइको चपेटा ।।

२०८२ साउन १२ बुर्तिबाङ,
शिशिर विश्वोकर्मा ,अति दुर्गम मानिने बागलुङ जिल्ला तमानखोला गाउँपालिका–६ स्थित पातले गाउँ पछिल्लो समय विस्तारै विकासको लयमा अघि बढ्दै छ ।
विद्युत्, सडक, विद्यालय जस्ता आधारभूत भौतिक पूर्वाधार विस्तार भइरहेका छन् । तर, विकाससँगै गाउँ रित्तिँदै गएको देखिएको छ । विकासले गति लिए पनि गाउँमा बसोबास गर्ने सङ्ख्या घट्दो क्रममा छ । स्थानीयहरू शिक्षादीक्षा, स्वास्थ्य सेवा र रोजगारीको खोजीमा शहरतिर बसाइँसराइ गर्न थालेपछि पातले सुनसान बन्दै गएको हो ।
कहिल्यै विद्यालय  नगएका  धेरै बालबालिकाले पहिले विद्यालय नपाएर पढ्न पाएका थिएनन् । अहिले विद्यालयको भवन निर्माण भइसकेको छ तर पढ्ने विद्यार्थी नै छैनन् । सिङगो विद्यालयमा जम्मा ५ जना मात्र विद्यार्थी रहेको वडा नम्बर ६ का वडाध्यक्ष चित्र छन्त्यालले बताउनुभयो
गाउँमा विद्युत् सेवा पुगेको छ, सडकको पहुँच पुगेको छ, तर त्यही विकासका कारण मानिसहरू गाउँ छाडेर सहर पस्न थालेका छन् ।
‘पहिले स्कुल थिएन, पढ्नै पाइँदैनथ्यो’, एक स्थानीय वृद्धाले भने, ‘अब त स्कुल छ तर बच्चा छैनन् । पातले जस्ता दुर्गम भेगमा विकास विस्तार हुनु सकारात्मक भए पनि त्यससँगै बढ्दो बसाइँसराइले गाउँ रित्तिन थालेको चिन्ताको विषय बनेको छ ।
स्थानीय बासिन्दाहरूको जीवन कठिनाइमा बित्थ्यो । दैनिक जीवनका सामान्य आवश्यकता पुरा गर्नसमेत घण्टौँ पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो ।
तर पछिल्लो एक दशकमा पातलेले विस्तारै विकासको गति लिँदै आएको छ । अहिले गाउँसम्म मोटरबाटो पुगेको छ ।
केही वर्षअघिसम्म पातलेमा पढ्ने वातावरण थिएन । बालबालिकाले नजिकैको गाउँ घण्टौ लगाएर  जानुपर्ने बाध्यता थियो । कतिपय बच्चाहरू विद्यालय टाढा भएका कारण पढ्नै सकेनन् । अहिले भने गाउँमै विद्यालय छ, शिक्षक छन्, भवन छन्, तर समस्या छ – विद्यार्थी नै छैनन् ।
स्थानीय बासिन्दा तुलसी सिर्पालीले दुखेसो पोख्नुभयो , “पहिले गाउँमा जति समस्या भए पनि चहलपहल थियो । अहिले विकास भयो तर मान्छे नै छैनन् ।”
गाउँपालिकाले भने परिस्थितिलाई नियालिरहेको बताएको छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुदा मगर भन्छन्, “हामीले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा लगानी गरिरहेका छौं । अब कृषि र रोजगारमुखी कार्यक्रम ल्याएर गाउँ फर्काउने प्रयास गरिन्छ ।”तर स्थानीयहरू चाहिँ तत्कालका लागि गाउँमा फर्कने आशा गरेका छैनन्। उनीहरू भन्छन्, अब गाउँमा बालबालिका छैनन्, वृद्धबृद्धा मात्रै छन्। न त रोजगारी छ, न त जीवनयापनको आधार छन्।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img