२०८२ असार ११ बुर्तिबाङ,
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ७१ करोड ९५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले १६ औँ गाउँसभा मार्फत आगामी वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेटमा आन्तरिक राजस्व स्रोतबाट १ करोड ६० लाख १५ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएको छ । सङ्घीय सरकारबाट २५ करोड ५४ लाख ६७ हजार र प्रदेश सरकारबाट ११ करोड ८६ लाख ७५ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै, समपूरक अनुदानमार्फत ७ करोड ९५ लाख ७० हजार, सशर्त अनुदानबाट ११ करोड ७९ लाख ८३ हजार र विशेष अनुदानबाट २ करोड ९९ लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ। साथै, अन्य स्रोत तथा दातृ निकायबाट १० करोड ९ लाख ९० हजार रुपैयाँ जुटाउने योजना बजेटमा उल्लेख गरिएको छ।
गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, वातावरणीय संरक्षण र सुशासनमा विशेष प्राथमिकता दिइएको छ।
उपाध्यक्ष वनका अनुसार बजेट विनियोजन गर्दा दिगो विकासका आधार तयार पार्नतर्फ ध्यान दिइएको छ।
बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ को लागि सार्वजनिक गरेको ७१ करोड ९५ लाख रुपैयाँको बजेटमा विभिन्न क्षेत्रगत प्राथमिकता निर्धारण गरिएको छ। गाउँपालिकाले समावेशी, दिगो र विकासमुखी कार्यलाई प्राथमिकता दिँदै निम्न क्षेत्रहरूलाई मुख्य रूपमा ध्यानमा राखेको छ सडक सञ्जाल विस्तार, पुल निर्माण, खानेपानी तथा सिँचाइ परियोजनामा ठुलो लगानी गर्ने घोषणा गरिएको छ ।
ग्रामीण क्षेत्रका पहुँचविहीन वस्तीलाई सडक सञ्जालमा जोड्ने योजना प्राथमिकतामा परेको छ। शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयमा आवश्यक संरचना निर्माण, छात्रवृत्ति कार्यक्रम र डिजिटल शिक्षाको प्रवद्र्धनमा बजेट विनियोजन गरिएको छ।
सामुदायिक स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह सुधार, औषधि उपलब्धता र सुरक्षित मातृत्व कार्यक्रमलाई सशक्त पार्ने योजना प्रस्तुत गरिएको छ । व्यावसायिक कृषि, आधुनिक कृषि उपकरण प्रवद्र्धन, पशुपालन तथा मल, बीउबिजनमा अनुदान दिइने उल्लेख गरिएको छ ।स्थानीय पर्यटकीय स्थलहरूको प्रवद्र्धन, सफा वातावरणका लागि सरसफाइ कार्यक्रम र वातावरणीय सचेतना कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ ।
त्यस्तै गाउँपालिका सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै गभर्नेन्स प्रणाली कार्यान्वयन गर्ने योजना प्राथमिकता सूचीमा राखिएको छ । विपन्न, अपाङ्गता भएका, एकल महिला तथा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षालाई बलियो बनाउने कार्यक्रम प्राथमिकतामा राखिएको छ।
गाउँपालिकाले सन्तुलित, समावेशी र दिगो विकासमा आधारित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ, जसले जनताको आधारभूत आवश्यकता सम्बोधन गर्दै समृद्ध बडिगाड निर्माणमा टेवा र्पुयाउने अपेक्षा गरिएको छ ।
गतवर्ष भन्दा कुल बजेटमा १ करोड कमी रहेपनि पुँजीगत तर्फ गतवर्ष भन्दा ४ करोड कमीको बजेट सार्वजनिक गरेको हो। अघिल्लो वर्षको मौजाद कम भएको र प्रशासनिक खर्च बढेका कारण पुँजीगत खर्चमा कमी आएको हो ।