बागलुङको तमानखोला गाउँपालिकाभित्र चालु आर्थिक वर्षमा विभिन्न चार स्थानमा कल्भर्ट पुल बनिरहेका छन ।

बर्षातको समयमा करिब ५ महिना खोलामा पानीको बहाब बद्दा गाउँसम्म सहज रुपमा यातायातका साधन पुग्न नसक्ने अवस्थाबाट बञ्चित रहेका स्थानीय नागरिकको समस्यालाई सम्बोधन गर्दे गाउँपालिकाले कल्भर्ट पुल मार्फत विकास अगाडि बढाएको हो ।
गतबर्ष दुई वटा पुल बनाएपछि सहज यात्रा गर्न पाएर दँग भएका स्थानीय नागरिक यसबर्ष चार ठाउँमा पुल बन्ने देखेपछि अब भने सहज रुपमा गाउँगाउँमा बर्षातको समयमा पनी सवारी चल्नेमा आशाबादी देखिएका छन ।बर्षातको समयमा उर्लने स्थानीय खोलाहरुमा मोटरेवल पुल बनाउन धेरै लगानी लाग्ने र मोटरेवल पुल बन्न धेरै समय लाग्ने अवस्था देखिएपछि साना खोलाहरुमा पनी बर्षातको समयमा नागरिकले पाएको सास्तिलाई म्ध्यनजर राख्दै पालिकाले बजेट विनीयोजन गरेर कल्भर्ट पुल वनाएर सिधा सवारीका साधन चल्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।

खोलाको दुरी धेरै भएको ठाउँमा मोटरेवल पुल बनाउन पहल गरेका छौँ सानो दुरी रहेको क्षेत्रमा कल्भर्ट पुल प्रभावकारी देखिएपछि विभिन्न स्थानमा क्लभर्ट निर्माण गरिएको अध्यक्ष बुढाको भनाई छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले बोङगाखानी–बोङगादोभान घाट वडा नम्बर २ मा ७९ लाख ८८ हजार लागतमा पुल बनाइरहेको छ ।
हालसम्म ८५ प्रतिशत काम सकिएको हो । त्यस्तै वडा नम्बर ६ को नर्जा नुन्थला घाटमा ५७ लाख ३५ हजार लागतमा काम भइरहेको छ । वडा नम्बर ३ तमानको धोङखोलाघाटमा कल्भर्ट निर्माण सम्पन्न भएको छ । उपभोक्ता समिती मार्फत १० लाख लागतमा उक्त कल्भर्ट बनेको हो । त्यस्तै गण्डकी प्रदेश सरकार मार्फत सेर्माघाटमा कल्भर्ट निर्माण भइरहेको तमानखोला गाउँपालिका प्राविधिक प्रमुख राजन जिसीले बताउनु भयो ।
आगामी आर्थिक वर्षमा खुँखानी –थास्पुरी सहित दुई स्थानमा कल्भर्ट र बोङगादोभान –तमान जाने तमानखोला र वडा नम्बर ५ खुँखानी नर्जाखानी जाने खोलामा मोटरेवल पुल निर्माण भएमा तमानखोला गाउँपालिका सबै नागरिक सहज रुपमा बर्षातको समयमा समेत यात्रा गर्न सक्ने भएका हुन ।
आफुहरुको समस्या बर्षातको समयमा सिधा सडक सञ्जाल नहुँदा सास्ति भएको बताउँदै मोटरेवल पुल र कल्र्भट बनेमा निकै सहजता हुने तमानखोला ६ भित्रिवनका तम बहादुर छन्त्यालले बताउनु भयो । गाउँपालिकाले नागरिकको समस्यालाई मध्यनजर राख्दै यसबर्ष करिब डेढ करोड रुपैयाँ कल्भर्ट पुल निर्माणमा लगानी गरेको हो ।










